रेडियो संकेत

परिवर्तनको आवाज

भुजेल गाउँमा खानेपानी योजनाको समुद्घाटन

1 min read

जेष्ठ १२,गैंडाकोट

नारायणगढ रोटरी क्लब, गैंडाकोट रोटरी क्लब र गैंडाकोट नगरपालिकाको संयुक्त सहकार्यमा गैंडाकोट नगरपालिका, वडा नं ३ मा अवस्थित भुजेल गाउँमा निर्माण सम्पन्न भएको भुजेल गाउँ खानेपानी तथा सरसफाई योजनाको आज एक कार्यक्रम बिच प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख श्री छत्रराज पौडेलज्यूले खानेपानीको मुहानमा निर्मित पानी ट्याङ्की र गाउँको माथिल्लो भागमा निर्मित पानी ट्याङकीको अवलोकन पश्चात् धारा खोलेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । भुजेल गाउँ खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष श्री दिलबहादुर भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरूमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, गैंडाकोट रोटरी क्लबका संस्थापक अध्यक्ष भीमप्रसाद शर्मा, गैंडाकोट नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त तिवारी रहनुभएको थियो । उक्त खानेपानी योजनाका लागि रु. १,५०,००० सहयोग प्रदान गर्नुहुने नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधान (माता स्व. गङ्गादेवी प्रधानको स्मृतिमा) र एकलाख रुपैयाँ नगद सहयोग गर्नुहुने सदस्य वसन्तबहादुर पाण्डेलाई प्रमुख अतिथि श्री छत्रराज पौडेलज्यूले दोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो ।

२०७६ साल असार १० गते सुरु भई २०७७ वैशाख ३० गते सम्पन्न भएको उक्त खानेपानी योजनाको लागि उपभोक्ता समिति तथा स्थानीय वासिन्दाको श्रमदान सहित २३ प्रतिशत, गैंडाकोट नगरपालिकाको २९ प्रतिशत, नारायणगढ रोटरी क्लबको १६.५ प्रतिशत र गैंडाकोट रोटरी क्लबको १६.५ प्रतिशत रकम योगदान रहेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर भुजेलले बताउनुभयो । समाजसेवामा निरन्तर समर्पित “स्वार्थ भन्दा माथी सेवा” को उद्देश्य लिएर स्थापित नारायणगढ रोटरी क्लब र गैंडाकोट रोटरी क्लबले भुजेल गाउँको निरीक्षणको क्रममा त्यहाँ खानेपानीको समस्या देखिएको र स्थानीय वासिन्दाहरू खानेपानीको लागि करिब ३५ मिनेट हिंँडेर मुहानसम्म पुगेर पानी ल्याउनुपर्ने अवस्था रहेकोमा गैंडाकोट नगरपालिकासँग छलफल गरी यस योजनालाई सफल बनाउन लागिपरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए । साथै उक्त मुहानमा पानीको सतह ज्यादै कम भएकोले मुहानमै १२००० लिटरको ट्याङ्की निर्माण गरी त्यहाँ पानी जम्मा गरिएको र गाउँकै माथिल्लो सतहमा १६००० लिटरको ट्याङ्की निर्माण गरी गाउँलेहरूलाई शुद्ध खानेपानीको प्रवन्ध मिलाइएको गैंडाकोट रोटरी क्लबका अध्यक्ष करुणा सागर सुवेदीले बताउनुभयो । भुजेल गाउँ खानेपानी तथा सरसफाई योजना अन्तर्गत निर्माण सम्पन्न भएको उक्त योजनाको लागत १४,७१,२७० रहेको तथा भुजेल गाउँका ३५ घरधुरी परिवारका लागि ३५ वटा धाराहरू हरेक घरमा जडान गरिएको र स्थानीय एक विद्यालयको लागि समेत धारा जडान गरिएको नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर एवम् उक्त योजनाका प्राविधिज्ञ इन्जिनियर रोटरियन गुणेश्वर महतोले बताउनुभयो । रोटरियन यज्ञमुनी बज्राचार्यले सञ्चालन गर्नुभएको उक्त समुद्घाटन कार्यक्रममा सहजकर्ताको रुपमा गैंडाकोट रोटरी क्लबका सचिव रोटरियन गणेश उपाध्यय हुनुहुन्थ्यो । गैँडाकोट रोटरी क्लबको तर्फबाट संस्थापक अध्यक्ष भीमप्रसाद शर्मा, निवर्तमान अध्यक्ष गोपेन्द्र केशरी न्यौपाने, कोषाध्यक्ष श्रीनिवास पौडेल लगायत अन्य पदाधिकारी एवम् सदस्यहरू, नारायणगढ रोटरी क्लबबाट पूर्व अध्यक्षहरू अरुणकुमार पिया, रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, सहन प्रधान, कृष्णप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश पौडेल, २०२०/२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, पूर्व सदस्य प्रसन्न श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्तिथी रहेको थियो ।Chat conversation endType a message…

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.