रेडियो संकेत

परिवर्तनको आवाज

आध्यात्मिक ज्ञान : मृत्युसँग किन डराउने ?

1 min read

अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।

फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले मानिसले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ ।

महाभारत, श्रीमद्भागवत् गीता जस्ता हिन्दू धर्मशास्त्रहरु यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्दछ । महाभारतको यही मोक्षधर्म सम्बन्धी पर्वमा एक पिता र पुत्रले मृत्युबारे गरेको विवेचनलाई हामीले प्रस्तुत गरेका छौं ।

राजा युधिष्ठिरले एक दिन भीष्मपितामहलाई सोधे,  पितामह ! समस्त भूतहरुको संहार गर्नेवाला यो काल विस्तारै बितिरहेको छ । यस्तो अवस्थामा मानिसले के गर्दा ऊ कल्याणको भारी हुन सक्दछ । यो मलाई बताईदिनुहोस् ।

भीष्‍म पितामहले भने,  युधिष्ठिर ! यस विषयमा ज्ञानी पुरुष पिता र पुत्रको संवादरूपलाई हाम्रो प्राचीन इतिहासले उदाहरणको रुपमा दिने गरिएको छ । तिमी त्यो उदाहरणलाई ध्यानपूर्वक सुन ।

कुन्‍तीकुमार, प्राचीनकालमा एक ब्राह्मण थिए, जो सदा वेद–शास्त्रको स्वाध्‍यायमा तल्लीन रहन्थे । उनका एक पुत्र थिए । जो गुणमा त मेधावी थिए नै, नाममा समेत मेधावी थिए । उनी मोक्ष, धर्म र अर्थमा कुशल तथा लोकतत्त्वका राम्रा ज्ञाता थिए ।

ए‍कदिन उनका पुत्रले आफ्ना स्वाध्यायपरायण पितासँग भने , ‘पिताजी ! मनुष्‍यहरुको आयु तीब्र गतिमा बित्दै गईरहेको छ । यस्तो अवस्थामा यो जानेका धीर पुरुषले के गर्नुपर्छ ? मलाई आज यथार्थ उपायको उपदेश गरिदिनुहोस् । जसका कारण म पनि धर्मको आचरण गर्न सकुँ ।’

फेरि पिताले भने, ‘छोरा ! यो आयुको गतिलाई हामीले चाहेर पनि रोक्न सक्दैनौं । यस्तो अवस्थामा द्विजहरुले सबैभन्दा पहिले ब्रह्मचर्यको व्रत पालना गर्दै सम्पूर्ण वेदहरुको अध्ययन अध्यापन गर्नुपर्दछ । फेरि गृहस्थावस्थामा पितृहरुको सद्गतिको लागि सन्तानोत्पादन गर्नुपर्दछ । सोही आश्रममा विधिपूर्वक त्रिविध अग्निको स्थापना गरेर यज्ञको अनुष्ठान गर्नुपर्दछ । त्यसपछि वानप्रस्थ–आश्रममा प्रवेश गर्नुपर्दछ । त्यसपछि वैराग्य सहित सन्यासाश्रममा प्रवेश गर्नुपर्दछ ।

फेरि पुत्रले सोध्यो, ‘पिता जी ! यो लोक जब यसरी मृत्युद्वारा मारिँदै गईरहेको छ, दिन र रात सफलतापूर्वक आयुक्षय रुपमा काम गरेर वितिरहेको छ । यस्तो अवस्थामा तपाईं यस्तो कुरा कसरी गरिरहनु भएको छ ?’

पिताले फेरि भने, ‘छोरा ! तिमी मसँग भयभीत किन भईरहेका छौं ? मलाई एउटा कुरा बताऊ कि यो लोक कसबाट मारिँदै छ ? के कुराले यो लोकलाई घेरिरहेको छ ? यहाँ को मानिसले चाहिँ सफलतापूर्वक आफ्नो काम सम्पन्न गर्दैछ ?

पुत्रले भन्यो, ‘पिता जी ! हेर्नुहोस् यो सम्पूर्ण जगत मृत्युद्वारा नै मारिँदैछ । बुढ्यौलीले यसलाई चारैतिरबाट घेरिरहेको छ । दिन र रात नै यस्तो व्यक्ति हो जसले सफलतापूर्वक प्राणिहरुको आयु अपहरण स्वरुप आफ्नो काम गर्न व्यतित छ । यस कुरालाई तपाईं किन नजरअन्दाज गरिरहनु भएको छ ?’

‘यो अमोघ रात्रिहरु नित्य आउने गर्दछ र जान्छ पनि । जब म यस कुराको बारेमा परिचित छु कि मृत्युले हामीलाई क्षणभरको लागि पनि पर्खिने छैन । म उसको जालोमा फसिसकेको छु । जब एक रात बितेसँगै आयु कम हुँदै जान्छ भने ताजा पानीमा खेल्दैगरेको माछा जस्तो कसले सुख पाउन सक्छ त ?’’ छोराले फेरि थप्यो ‘‘जसरी घाँसमा चरिरहेको भेँडाको सामु अचानक बाघ आउँछ र उसलाई टिपेर लैजान्छ । त्यसरी नै अर्कै काममा व्यस्त रहेको मानिसलाई सहसा मृत्युले टिपेर लैजान्छ । यो कस्तो चलन हो ?’

त्यसको उत्तरमा पिताले भने, ‘त्यसैले म भन्दै छु, जुनसुकै कल्याणकारी कार्य हो । त्यो आज नै गर्नुपर्छ । तपाईं गर्छु भनेर राखेको कुरा त्यसै तपाईंको हातबाट नखुस्कियोस् । किनकी तपाईंको काम आधा पनि पूरा नहुँदै तपाईंलाई मृत्युले खिच्न सक्छ । त्यसैले जुन कामलाई साँझसम्म गरिसक्नुपर्ने भनिएको हुन्छ त्यो बिहान नै गरिसक्नुपर्ने हुन्छ ।

कसले जानेको हुन्छ कसको मृत्यु आज नै हुन्छ भनेर ? सम्पूर्ण जगतमा प्रभुत्व राख्नेवाला मृत्यु जब कसैलाई हराएर लैजान चाहन्छ । उसले कसैलाई पनि मृत्युको पूर्वसन्देश पठाउने गर्दैन । जसरी माझीले लुकेर गएर माछालाई जालोमा हालेको हुन्छ । त्यसरी नै मृत्युले पनि लुकेर गएर मानिसलाई टिपेर लैजान्छ । अतः युवावस्थामा नै सबैले धर्मको पालना गर्नुपर्दछ । किनकी जीवन निःसन्देह र अनित्य छ । धर्माचरण गर्नुले यस लोकमा मनुष्‍यको कीर्तिको विस्तार हुन्छ र परलोकमा समेत उसलाई सुख मिल्छ । जो मनुष्‍य मोहमा डुबेको छ त्यो मानिस नै पुत्र र स्त्रीको लागि उद्योग गर्ने गर्दछ । गर्न हुने र नहुने काम गरेर यी सबैको पालनपोषण गर्ने गर्दछ । जसरी सुतेको मृगलाई बाघले उठाएर लैजाने गर्दछ । त्यसैगरी पुत्र, परिवार एवं पशुहरुबाट सम्पन्न एवं तिनै मनलाई फसाई राख्ने मनुष्यहरुलाई एक दिन मृत्यु आएर उठाएर लैजाने गर्दछ ।

मृत्युको वर्णन

मनुष्‍य सोच्ने गर्दछन् कि यो कुरा पूरा भयो र अर्काे कुरा अधुरो नै रहने भयो । यस प्रकारको चेष्‍टाजनित सुखमा आसक्‍त भएका मानिसहरुलाई कालले आफ्नो वशमा लिने गर्दछ । मनुष्य आफ्नो खेत, पसल र घर जस्ता सामान्य विषयलाई मात्रै आफ्नो ठानेर त्यो भ्रममा फसेर बस्ने गर्दछन् । उनीहरुलाई यसरी गरेको कर्मको फल कहिले र कस्तो पाईन्छ ? भन्ने बारेमा समेत ज्ञान भएको पाईंदैन । त्यो कर्मको फल पाउनुभन्दा अघि नै कर्मासक्त मनुष्‍यलाई मृत्युले उठाएर लैजान्छ । कुनैपनि मानिस दूर्बल होस् या त बलवान् । शूरवीर होस् या त डरपोक तथा मूर्ख नै किन नहोस् । मृत्यु उसको समस्त कामनाहरु पूरा हुनुभन्दा पहिले नै उसलाई उठाएर लैजान्छ ।

कुनैपनि मानिस जन्मिएपछि अमृत र मृत्यु दुबै उसले शरीरमा नै लिएर आएको हुन्छ । मनुष्‍य मोहबाट मृत्युलाई र सत्यबाट अमृतलाई प्राप्त गर्दछ । अतः अब म हिंसाबाट दूर रहेर सत्यको खोजी गर्नुपर्दछ । काम र क्रोधलाई हृदयबाट निकालेर दुख र सुखको समान भाव राख्नुपर्दछ । तथा सबैको लागि कल्याणकारी बनाएर मृत्युको भयबाट मुक्त हुनुपर्नेछ । यज्ञमा तत्पर रहेर मन र इन्द्रियहरुलाई वशमा राखेर ब्रह्मयज्ञ (वेद–शास्त्रहरुको स्वाध्‍याय) मा लागेर मुनिवृत्तिले रहनेले मृत्युसँग डराउनुपर्ने अवस्था नै रहँदैन ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.